काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ ।
कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा सहमति जुटाउन बैठक बसिरहेको हो ।
यसअघि बुधवार कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति लगभग जुटिसकेको छ ।
बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।
सो सहमति पछि प्रचण्ड सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउनका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने नेकपा एकीकृत समाजवादीले बुधवार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वालालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ ।



