राजनीति

मन्त्रालयको भागबण्डा टुंग्याएर आजै नयाँ मन्त्रीहरूको शपथग्रहण

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ ।

बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ आफनो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहिवार बिहान बैठक बोलाईएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार सोही बैठकवाट मन्त्रालयको संख्या र मन्त्रालयको भागबन्डा हुनेछ ।

को–को बन्दै छन् मन्त्री ?
नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदैछन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदैछन् । यस्तै धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै सहभागी हुने स्रोतले जानकारी दिएको छ ।

कांग्रेसबाट राजेन्द्र केसी, दीपक खड्का, अजय चौरसिया, रामहरी खतिवडाले पनि मन्त्रीका लागि जोडबल लगाइरहेका छन् । एमालेले छाडेका आठवटा मन्त्रालय कांग्रेसले लिने र भागबण्डा मिलाउनु पर्ने अवस्थामा केही मन्त्रालय हेरफेर गर्ने कांग्रेसको तयारी छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहने छन् ।

यस्तै एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ । यस्तै, जनता समाजवादी पार्टीबाट दुई जना मन्त्री बन्दै छन् । जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *