काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ ।
मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तार गर्दै जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई मन्त्री नियुक्त गरेका हुन् ।
भण्डारीलाई कृषि तथा भूमि व्यवस्था मन्त्री बनाइएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी पाएका एमालेका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्री अहिरले आज (सोमबार) ११ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी हेरफेर र नियुक्ति गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्री चयनका बेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रीमण्डलमा अटाएको थिएन ।




