समाचार

राष्ट्रपति निर्वाचनबारे जसपाले थाल्यो आन्तरिक छलफल

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल थालेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो पार्टीले आईतबार केन्द्रिय समितिको बैठक बोलाइ सो विषयमा छलफल सुरु गरेको हो । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले बताएका छन् ।

बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको थियो । विधान अधिवेशन र त्यसको समयतालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताए ।

उनले पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरुको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भएको जानकारी दिए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भईसकेको छैन। किनभने कुनै फिचर क्लिएर भईसकेको छैन । कुनै पनि उम्मेदवारहरुको बारेमा टुंगो पनि लागि सकेको छैन । यसमा पार्टीले भर्खरै केही छलफल गर्नुपर्छ भन्ने पक्षमा छैन । छलफल सबै राजनीतिक दलहरुसँग जारी छ । त्यस अवस्थामा पछि पार्टीले निर्णय गर्छ’, उनले भने ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिमा दावी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *