विश्व

भूकम्पले थलिएको सिरियामा इजरेलले हान्यो मिसाइल : १५ जनाको मृत्यु

काठमाडौँ । केही दिनअघि फेब्रुअरी ६ मा आएको विनाशकारी भूकम्पग्रस्त सिरियाको राजधानी दमास्कसमा वरिष्ठ सुरक्षा अधिकारीहरू बस्ने एउटा भवनमा इजरेलले मिसाइल हान्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सघन जनसंख्या भएको काफ्र सुसामा उच्च अधिकारीहरू, सुरक्षा एजेन्सीहरू र गुप्तचर मुख्यालयहरू बस्ने घरमा इजरेलले मिसाइल हानेको हो ।

‘मध्यराति १२ बजेर २२ मिनेटमा इजरेली शत्रुले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट दमास्कस र यसको आसपासका आवासीय छिमेकीहरू सहित धेरै क्षेत्रहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गर्याे,’ सिरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

सिरियाली सरकारले शुरुमा सर्वसाधारणसहित पाँच जना मारिएको र १५ जना घाइते भएको भनेको थियो । पछि सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले मृत्यु हुनेको संख्या १५ पुगेको अनुमान गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ ।

यो आक्रमण विशेष व्यक्तिलाई लक्षित गरी गरिएको हो कि भनेर तत्काल स्पष्ट हुन सकेको छैन । राज्य मिडियाले सार्वजनिक गरेको एक भिडियोले आक्रमणमा १० तले भवन नराम्ररी क्षतिग्रस्त भएको छ र यसको तल्लो तलाको संरचना कुचलिएको छ । टर्किएमा समेत गरी ४३ हजार भन्दा बढीको ज्यान लिएको फेब्रुअरी ६ को विनाशकारी भूकम्पबाट रिकभर भइरहेको सिरियामा इजरेलले आक्रमण गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *