काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
राष्ट्रपतिको चुनावका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धारण गरेको छ । मतदान स्थलमा दुई वटा केन्द्र रहने छन् ।
निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधवार १० गते मतदाता नामावली प्रकाशन हुनेछ । सहायक प्रवक्ता भुसालकाअनुसार राष्ट्रपति चुनावमा मतदान गर्न योग्य मतदाताको सूची संघीय संसद् र सातवटै प्रदेशको प्रदेश सभा सचिवालयबाट प्राप्त भएको छ ।
आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ । मतदानका लागि आउँदे १३ गते मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा संद्दीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ । संद्दीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ ।




