काठमाडौँ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् ।
टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या ३१ हजार नाघेको छ । अहिलेसम्म टर्कीमा ३१ हजार ६४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै टर्कीमा अहिलेसम्म ८० हजार भन्दा बढी घाइते भएको डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जानकारी दिएको छ ।
त्यस्तै सिरियामा मृत्यु हुनेको संख्या ४ हजार ५७४ पुगेको छ ।
अत्यधिक चिसोका कारण चौथो दिन पनि खोजीमा बाधा पुगेको छ । अहिलेपनि राहत र उद्धारको कार्य भइरहेको एजेन्सीले जनाएको छ । अहिले टर्कीमा ६० देशका ६ हजार ८०० भन्दा बढी उद्धारकर्ता उद्धार कार्यमा लागिरहेको टर्कीले जनाएको छ ।
यसैबीच टर्कीले कमजोर घर बनाउने निर्माण व्यवसायीहरुलाई पक्राउ गर्न शुरु गरेको छ । टर्कीको सरकारी समाचार एजेन्सी अनाडोलुका अन्सुआर अहिलेसम्म १६३ निर्माण कम्पनिमाथि अनुसन्धान शुरु गरिएको छ । जसमा ५६ जनालाई पक्राउ गरिएको छ । जसमध्ये ८ निर्माण व्यवसायीका मालिकलाई जेल पठाइएको छ भने ४८ जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिदै छ ।
यस अघि टर्कीका कानुनमन्त्री बेकिर बोजडागले भूकम्प प्रभावित क्षेत्रमा काम गरेका निर्माण कम्पनिहरुमाथि न्यायिक अनुसन्धान हुने बताएका थिए । उनले भूकम्पले ध्वस्त भएका घरहरु २० देखि ३० बर्षका मात्र रहेको बताउदै यी घरहरुको निर्माणमा संलग्न कम्पनीहरुमा अनुसन्धान हुने बताएका थिए । तर आम सर्वसाधारणले भने सरकारको गलत नीतिका कारण कमजोर घर बनेको र अहिले ठुलो नोक्सान भएको आरोप लगाएका छन् ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४: १७ बजे ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १: २४ मा ७.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।




