ताजा समाचार

टर्की भूकम्प : मृत्यु हुनेको संख्या १५ हजार पुग्यो, उद्धारमा भएको ढिलाइको राष्ट्रपतिले गरे बचाउ

काठमाडौं । टर्की भूकम्पमा परी हालसम्म १५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

गत सोमबार टर्कीको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको दुई वटा शक्तिशाली भूकम्पका कारण टर्कीमा मात्रै १२ हजार ३९१ जनाको ज्यान गएको छ ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीले दिएको जानकारीअनुसार हालसम्म भूकम्पमा परी घाइते हुनेको संख्या ६२ हजार ९१४ जना पुगेको छ ।

यस्तै, उत्तरी सिरियामा २ हजार ९९२ जनाको मृत्यु भएको सिरियाली अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पले टर्कीमा मात्रै ६ हजारभन्दा बढी घर तथा भवनहरु ध्वस्त बनाएको छ । भूकम्पबाट टर्कीका एक करोड ३० लाख मानिस प्रभावित भएका छन् ।

सोमबार बिहान ७ दशमलब ८ र त्यसको ९ घण्टापछि ७ दशमलब ५ म्याग्निच्युडको दुई वटा शक्तिशाली भूकम्प गएको थियो ।

उद्धारमा भएको ढिलाइको बचाउ

टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोआनले विनाशकारी भूकम्पमा सरकारको प्रतिक्रियाको बचाउ गरेका छन् । उनले दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको भन्दै सरकारको बचाउ गरेका हुन् ।

भूकम्प प्रभावित क्षेत्रमा आपतकालीन सेवाहरु निक्कै ढिला भएको भन्दै सरकारको आलोचना भइरहेको छ । आलोचकहरुले सरकारको तयारी कमजोर रहेको आरोप लगाएका छन् ।

यद्यपि, राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरु सामना गरेको स्वीकार गरेका छन् । अहिले भने स्थिति नियन्त्रणमा रहेको उनको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *