दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान भइरहेको छ ।
बिहान १० बजेदेखि जारी मतदानमा प्रदेशसभातर्फबाट ८७ जना मतदाता रहेकामा हालसम्म ६३ जनाले मतदान गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार पालिकातर्फ २१८ मतदातामध्ये मध्याह्न १२ बजेसम्म १ सय ५० जनाले मतदान गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदानको व्यवस्था मिलाइएको छ।
लुम्बिनी प्रदेशका सांसद एवं विनाविभागीय मन्त्री चेतनारायण आचार्यले पहिलो मतदान गरेका थिए ।
मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुका लागि मतदानको व्यवस्था गरिएको छ ।
उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।
गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानका लागि उपनिर्वाचन भएको हो ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ‚ जसमध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ ।
८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन् । स्वतन्त्रबाट ३ जनाले जितेकामा एक जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।




