काठमाडौं । खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेको छ ।
मन्त्री अब्दुल खानले पाइप लाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सक्ने बताए ।
साताको एकदिन मन्त्री आफैँ कल सेन्टरमा बस्ने जानकारी दिइएको छ । देशैभरका ७७ जिल्लाका कु्नैपनि उपभोक्ताले उक्त सेन्टरमा फोनमार्फत गुनासो टिपाउन सक्नेछन् ।
‘गुनासो सुन्न चार जनाको टिम छ । यो गुनासो सेन्टरमा उपभोक्ताले सिधै फोन गर्न सक्छन् । पाइप फुटेकोदेखि पानी नआएसम्मको कुनै पनि समस्या यस सेन्टरमा टिपाउन सक्छन्,’ मन्त्री खानले भने, ‘यो सेन्टरमा हप्ताको एक घन्टा म आफैँ सिधै फोन उठाउँछु । यसको प्रक्रिया सबै पूरा भइसकेको छ । भोलि वा पर्सिभित्रमा यो सेन्टर सञ्चालनमा आउने छ ।’
यसका साथै मन्त्रालयले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानीका लागि प्रत्येक पालिकामा वास युनिट गठन गर्ने निर्णय पनि गरेको छ ।
उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालय अन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या सावधान गर्ने जानकारी दिइएको छ ।




