ताजा समाचार

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १७ जनाको मृत्यु

काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी १७ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ४ ः १७ बजे ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार टर्कीका अधिकारीलाई उदृत गर्दै बीबीसीले १७ जनाको मृत्यु भएको जनाएको हो ।

भूकम्पको धक्का राजधानी अंकाराका साथै छिमेकी मुलुक सिरिया, लेबनन, इजरायल र प्यालेस्टाइनसम्म महसुस भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

पहिलो भकम्प गएको ११ मिनेटपछि ६ दशमलब ७ म्याग्निच्युटको अर्को भूकम्प गएको थियो ।

भूकम्पबाट ५० भन्दा बढी भवनहरु भत्किएका र मुख्य रुपमा दुई वटा सहर बढी प्रभावित भएको जनाइएको छ ।

सामाजिक सञ्जालमा पोस्ट भएका भिडियो तथा तस्बिरहरुमा थुप्रै भवनहरु भत्किएका देखिएका छन् भने भग्नावशेषमा फसेका मानिसहरुले गुहार मागिरहेको देखिएको छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभाव दक्षिण पूर्वी सहर गाजियान्टेपमा परेको छ ।

दक्षिणी सहर कहरामनमारस नजिक दश किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ । भूकम्पले करिब एक मिनेटसम्म हल्लाको प्रत्यक्षदर्शीले बताएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा बचाउ कार्य सुरु भइसकेको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *