काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देवले ठूलो विश्लेषण पश्चात नेपाली कांग्रेसले हालको राजनीतिक अवस्था सिर्जना गरेको उल्लेख गरेका छन् । राष्ट्रिय सभा बैठकको विशेष समयमा शुक्रबार उनले थारु आन्दोलनका रेशम चौधरीलाई थुनामा राखेर अन्याय गरिएको बताए ।
‘नेपालको हरेक आन्दोलनमा मान्छे मारिएका छन् । सबै घटनालाई राजनीतिक मानिएको छ । कैलालीको थारु आन्दोलन पनि राजनीतिक हो । रेशम चौधरीलाई अन्याय भएको छ । यसलाई करेक्सन गर्नुपर्छ,’ नेता देवले भने, ‘हामी चाहन्छौं यो संविधानको रक्षा गर्नुपर्छ तर रेशम चौधरीलगायतका थारु राजबन्दी छुट्नुपर्छ ।’
उनले संघीयता देशमा आवश्यक रहेको भन्दै यसले देशविरोधी गतिविधिमा संलग्न शक्तिलाईसमेत राष्ट्रियतामा बाँधेको बताए । उनले अगाडि भने, ‘संघीयताले देशलाई बलियो बनाएको छ । देश टुक्राउने कुरा गर्ने सीके राउत आज संघीयताका कारण प्रतिनिधिसभामा छन् । संघीयता खर्चिलो भए कम खर्च गर्ने मोडेल ल्याउनुपर्छ । यसमा छलफल गर्नुपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाललाई असफल बनाउने प्रयास भइरहेको उनको तर्क छ । ‘संघीयता, धर्म निरपेक्षता, गणतन्त्र नचाहने शक्ति अहिलेको सरकारमा छन् । साथै हरेक समय प्रधानमन्त्री ‘प्रचण्ड’लाई पुष्पकमल बनाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘यो कुरालाई विशेष विश्लेषण गरेर नेपाली कांग्रेसले अहिलेको यो राजनीतिक पोजिसन बनाएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ नै बनेर सुशासन, विकास र संविधान रक्षाको बाटोमा हिड्नुहुन्छ भन्ने नेपाली कांग्रेसको चाहना हो ।
संविधान बनाउन, लागु र रक्षा गर्न हरेक राजनीतिक कालखण्डमा नेपाली कांग्रेस जोडिएको उनको भनाइ छ ।




