समाचार

अमेरिकामा राजदूत रहेका छिन क्याङलाई फिर्ता बोलाएर विदेश मन्त्रीको जिम्मेवारी

काठमाडौं । चीनले नयाँ विदेशमन्त्रीमा छिन क्याङलाई नियुक्त गरेको छ । चीनको राष्ट्रिय रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चीनको नयाँ विदेशमन्त्रीमा क्याङ नियुक्त भएको जनाएको छ ।

विदेशमन्त्री नियुक्त भएका क्याङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा कार्यरत थिए । यसअघि विदेशमन्त्री वाङ यी थिए ।

नयाँ विदेशमन्त्री क्याङ चीनको तियान्जानमा जन्मिएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्मको अध्ययन गरेका उनले सन् १९८८ बाट कुटनीतिक मिसनका लागि बेइजिङ सर्भिस ब्यूरो स्टाफ मेम्बरका रूपमा काम सुरू गरेका थिए ।

त्यसपछि १९९२ मा चीनको विदेश मन्त्रालयमा सरुवा भएका उनी त्यहाँको वेर्स्टन–यूरोपियन विभागमा रहेका काम गरेका थिए । सन् २०१० देखि एक वर्ष बेलायतमा रहेको चिनियाँ दूतावासमा रहेर उनले सेवा गरे ।

यसका साथै सोही समयमा विदेश मन्त्रालयको प्रवक्ता तथा सूचना विभागमा सहायक महानिर्देशकको जिम्मेवारी पाएका उनले सन् २०१४ सम्म उक्त विभागमा रहेर काम गरे । सन् २०१७ मा विदेशमन्त्रालयमा सहायक मन्त्री बनेका उनी त्यसको एक वर्षमा उप-विदेशमन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

सन् २०२१ मा अमेरिकाका लागि चिनियाँ राजदूत बनेका क्याङ गत अक्टोबरमा सम्पन्न पार्टीको २०औं महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *