ताजा समाचार

बंगलादेशको विषयमा रुस र अमेरिका किन भए आमने सामने ?

काठमाडौँ । बंगलादेश अचानक अमेरिका र रुसबीचको शब्दयुद्धको केन्द्रबिन्दु बनेको छ । बंगलादेशको आन्तरिक मामिलामा ढाकास्थित दुवै देशका दूतावासको हस्तक्षेपलाई लिएर विवाद उत्पन्न भएको हो ।

डिसेम्बर १४ मा सुरु भएको यो विवाद अहिलेसम्म रोकिएको छैन । १४ डिसेम्बरमा, ढाकाका लागि अमेरिकी राजदूतले विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का बेपत्ता नेताको घरमा गएका थिए । बीएनपी नेतालाई २०१३ मा जबरजस्ती बेपत्ता पारिएको आरोप छ । त्यसयता उनी घर फर्किएका छैनन् । यस अवधिभर बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदको नेतृत्वमा अवामी लिगको शासन थियो ।

यस विषयमा अमेरिकाले अहिले कडा प्रतिक्रिया दिएको छ । ढाकास्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै बंगलादेश सरकारसँग उच्च तहमा यो मुद्दा उठाएको जनाएको छ । वासिङ्टनस्थित बंगलादेशको दूतावास अगाडि पनि यो मुद्दा उठाइएको थियो । अमेरिकी दूतावासले ‘सबै मानवअधिकार उल्लङ्घनलाई गम्भीरताका साथ लिने’ भनेको छ। दूतावासले मानवअधिकार संगठनहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।

दूतावासको यो पहलप्रति रुसले कडा प्रतिक्रिया दिएको छ । उनले अमेरिकी दूतावासको यस गतिविधिले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको अमेरिकी दाबीको पर्दाफास भएको बताए । रुसी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशजस्ता देशले आफ्नो विदेश र आन्तरिक नीति अरु कुनै देशको निर्देशनअनुसार नभई आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्नका लागि तय गर्छन् ।’

त्यसको भोलिपल्ट अमेरिकी दूतावासले रुसी बयानको जवाफ दियो । उनले एक विज्ञप्तिमा भनेका छन्, ‘के रुसको यो वार्ता युक्रेनमा पनि लागू हुन्छ ?’ उनले यस वर्ष फेब्रुअरीमा युक्रेनमा रुसले सुरु गरेको विशेष सैन्य कारबाहीलाई संकेत गर्दै थिए ।

विश्लेषकहरूका अनुसार यी दुई देशबीचको यो टकराव महत्वपूर्ण मोडमा आएको हो । बीएनपीले हालै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध ठूलो जनप्रदर्शन गरेको छ । यसैबीच यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने दौडमा संलग्न दुई देशले बंगलादेशलाई आफ्नो भिडन्तको स्थल बनाएका छन् । बंगलादेशका लागि अमेरिका प्रमुख व्यापारिक साझेदार भएकोले निकै महत्वपूर्ण छ । पहिले रुस बंगलादेशका लागि त्यति महत्वपूर्ण थिएन तर हालै बंगलादेशले रुसबाट सस्तोमा कच्चा तेल लिन पहल गरिरहेको छ । अमेरिका र रुस दुवैले बंगलादेशको यो कठिन अवस्थाको फाइदा उठाउने प्रयास गरिरहेको बुझिएको छ ।

अमेरिकाको इलिनोइस स्टेट युनिभर्सिटीका प्रोफेसर अली रियाजले निक्की एशिया डट कमसँग कुरा गर्दै भने- ‘बंगलादेशमा देखिएको शब्दयुद्ध विश्व शक्तिहरूको प्रतिस्पर्धाको परिणाम हो । यसले बंगलादेशको विदेश नीतिसामु चुनौती खडा गरेको छ । जे होस्, यो घटनाक्रमले आन्तरिक राजनीतिमा पनि प्रभाव पार्नेछ ।’

यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकाले बंगलादेशमा बारम्बार हस्तक्षेप गर्ने गरेको बताएकी छन् । मानवअधिकारको नाममा विभिन्न देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्छन् । जाखारोभाले बेलायत र जर्मनीका दूतावासले पनि यस्तै भूमिका खेल्ने गरेको प्रतिक्रिया दिएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *