ताजा समाचार

गण्डकीका प्रदेशसभा सदस्यहरुले आज शपथ लिँदै

पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन् ।

प्रदेशसभा सदस्यलाई प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले दिउँसो १ बजे शपथ खुवाउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बस्याललाई भने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।

नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेशसभा – २ बाट निर्वाचित भएका हुन् ।

शपथ ग्रहणका लागि बिहान ११ बजे नै प्रदेशसभा हलमा उपस्थित हुन सचिवालयले आह्वान गरेको छ । शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाउन भनिएको छ । साथै, प्रदेशसभा सदस्यहरुलाई शपथ लिन आउँदा निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र साथमै लिएर आउन पनि सचिवालयले भनेको छ ।

प्रदेश प्रमुख गुरुङले आगामी पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

गण्डकी प्रदेशको ६० सदस्यीय प्रदेश सभामा २७ सिट जितेको नेपाली कांग्रेस पहिलो दलको रुपमा रहेको छ । यस्तै, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ ।

केन्द्रमा भएको राजनीतिक परिवर्तनका कारण गण्डकी प्रदेशमा पनि कांग्रेस ठूलो दल भएर पनि सरकार गठन गर्न सक्ने अवस्था छैन । नयाँ समीकरणपछि गण्डकीमा सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित छ । कांग्रेस पहिलो दल भएरपनि विपक्षमा बस्नु पर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *