काठमाडौँ ।चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले आफ्नो ‘एकतर्फी धम्कीको पुरानो दिनचर्या’ बन्द गर्नुपर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई टेलिफोन कुराकानीमा वाङले यस्तो चेतावनी दिएका हुन् ।
वाङले अमेरिकाले चीनको विकास दबाउन खोजेको भन्दै आरोप पनि लगाएका थिए । ‘अमेरिकाले बेइजिङको वैधताको चिन्ताप्रति ध्यान दिनु जरुरी छ,’ शुक्रबार वाङले भनेका छन् । अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न पनि उनले अमेरिकालाई चेतावनी दिएको अलजजिराले जनाएको छ ।
अमेरिकाले ठूलो परिणाम प्राप्त गर्नका लागि गर्ने साना कदमहरूलाई लक्षित गर्दै चीनले त्यस्तो नगर्न चेतावनी दिएको हो । दुई ठूला देशका प्रमुखहरूले प्रत्यक्ष भेटवार्ता गरेको केही सातामै चीनबाट यस्तो चेतावनी आएको हो । ताइवानको विषयमा हुने गरेका श्रृंखलाबद्ध विवादका बीच कुटनीतिक सम्बन्ध सुधार्न गत महिना मात्रै चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच इन्डोनेसियाको बालीमा प्रत्यक्ष भेटवार्ता भएको थियो ।
यसैबीच चिनियाँ विदेशमन्त्री वाङले शुक्रबार अमेरिकी परराष्ट्रमन्त्री ब्लिंकेनलाई टेलिफोन मार्फत् चेतावनी दिएको विषयले दुई देशबीच सम्बन्धमा थप तनाब सिर्जना हुनसक्ने आकलन गरिएको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दैआएको छ । तर अमेरिकाले त्यसलाई अस्वीकार गर्दै अलग देशको रुपमा व्यवहार गरेकोमा चिनियाँ अधिकारीहरू आक्रोशित बन्ने गरेका छन् ।




