काठमाडौँ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीले आफ्नो प्रभुत्व कायम गरेको छ ।
हालै सम्पन्न मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले तल्लो सदनमा बहुमतको लागि चाहिने २१८ सिट जितेको हो । त्यस्तै डेमोक्रेट पार्टीले तल्लो सदनमा २१० सिट जितेको छ ।
यस निर्वाचनमा अमेरिकी सिनेटमा ३५ र तल्लो सदनका सबै ४३५ सिटका लागि दुई दलबीच संघर्ष भएको थियो ।
सिनेटका सदस्यको पदावधि छ वर्ष र तल्लो सदनका सदस्यको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ ।
रिपब्लिकन पार्टीले सिनेटदेखि तल्लो सदनसम्म दुवै सदनमा राम्रो सफलता पाउने आशा राखे पनि सिनेटमा भने हाल डेमोक्रेटिकको बहुमत रहेको छ । सिनेटमा अहिले डेमोक्रेटको ५० सिट छ भने रिपब्लिकनको ४९ सिट रहेको छ । एक जर्जियाको सिनेट क्षेत्रमा निर्वाचन हुन बाँकी रहेको छ ।
अब २ बर्ष कार्यकाल रहेका राष्ट्रपति बाइडेनलाई तल्लो सदनमा कानुन पारित गर्न चुनौती हुने भएको छ ।
चुनावको नतिजा आएपछि राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीलाई प्रतिनिधि सभामा बहुमत प्राप्त गरेकोमा बधाई दिएका छन् । उनले भनेका छन्, ‘हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासिल गरेकोमा रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थीलाई बधाई दिन्छु । म रिपब्लिकन नेताहरूसँग काम गरेर मध्यम-वर्गीय परिवारहरूको लागि काम गर्दा परिणामहरू प्रदान गर्न तत्पर छु । म रिपब्लिकन वा डेमोक्रेट जो कोहीसँग पनि उनीहरूको हितमा काम गर्न तयार छु ।’




