सुदूरपश्चिम । मंसिर ४ गतेको निर्वाचन आउन आठ दिन बाँकी रहँदा गाउँबस्ती यतिबेला चुनावी रौनकले छोपिएका छन् ।
मत माग्न उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्नुपर्ने चटारो बढेको छ । टोलबस्तीमा मत जुटाउन उम्मेदवारले बढाएको सक्रियतासँगै मतदातालाई पनि उनीहरुको स्वागत गर्न भ्याइ न भ्याइ छ ।
उम्मेदवारले मत माग्न प्रचारप्रसारमा सक्रिय रहँदा मतदाता पनि मतदान गर्ने दिनको प्रतिक्षामा रहेका छन् । आ-आफ्नो पक्षमा माहौल बनाउन उम्मेदवारले थालेको घरदैलो अभियानलाई सर्वसाधारणले पनि साथ दिइरहेका छन् ।
निर्वाचनमार्फत् नयाँ प्रतिनिधि छान्न जनता प्रतिक्षा गरेर बसेको स्थानीय मतदाता चेतराज भट्टले बताए । ‘एकपक्षको चुनावी घरदैलो तथा भेला सकिए लगत्तै अर्को पक्षको भेला सुरु भइहाल्छ’, उनले भने, ‘उम्मेदवारले आफूलाई विजयी बनाएरमा सबै समस्या समाधान गरिदिने आश्वासन दिएर जान्छन् ।’
उम्मेदवारले आकर्षक नारा र आश्वासन बाँडेर जाने गरेपनि चुनाबका बेला गर्ने गरिएका यस्ता प्रतिवद्धता जीतेपछि पूरा नगर्ने प्रवृत्ति देखिँदा मतदाता विश्वस्त भने हुन नसकिरहेको उनले बताए । मतदातालाई रिझाउन प्रत्यासीले विकाससम्बन्धी र जनसरोकारका मुद्दालाई सम्बोधन गर्ने आश्वासन दिने गरेका छन् ।
फेरियो चुनावी प्रचारको शैली
विगतका चुनावको समयमा तडकभडक ढंगले हुने चुनावी प्रचारको शैलीभन्दा यो निर्वाचनको प्रचारशैली भने फेरिएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण विगतका निर्वाचनमा जस्तो तडकभडक यस पटकको निर्वाचन चुनावी प्रचारप्रसारमा देखिएको छैन । सामाजिक सञ्जालको प्रयोग गरेर उम्मेदवारले आफ्नो प्रचार गरिरहेका छन् ।
प्रविधिको विकाससँगै प्रयोगमा आएको सामाजिक सञ्जाल फेसबुक, ट्वीटरबाट मतदातालाई रिझाउन सहज हुने आसयका सामग्रीको प्रयोग बढाएका देखिन्छन् । स्थानीय मतदाता हेमन्त जोशीले भने, ‘समाजिक सञ्जालमा सभ्य तरिकाले आआफ्नो प्रचार गर्न सकिने भएपनि कतिपय प्रत्यासीका समर्थकले प्रतिस्पधिप्रति नकारात्मक र अशोभनीय टिकाटिप्णी गर्ने व्यवहार पोष्ट गरेर प्रचारशैली देखाउनुलाई उचित मान्न सकिन्न ।’
‘विसं २०६४ र २०७०को चुनाव र त्यस अघिका चुनामा पनि सामाजिक सञ्जालको प्रयोग निकै न्युनरुपमा भएको देखिन्थ्यो’, अर्का स्थानीय मतदाता मायादेवी भट्टले भने, ‘गएको स्थानीय तहको निर्वाचन र आउन लागेको निर्वाचनको प्रचारमा भने सामाजिक सञ्चालको प्रयोग ह्वात्तै बढेको छ ।’
धेरै प्रत्यासीबीच आआफ्ना भेला, बैठकमा देखिने मतदाताको उपस्थितिसम्बन्धी तस्बीरलाई समाजिक सञ्जालमा पोष्ट गर्ने होडबाजी नै छ । चुनावी प्रचारका क्रममा विगतमा जस्तो जहाँ पायो त्यही भित्तेलेखन गर्ने, तुलब्यानर टाँग्ने शैली भने रोकिएको छ । प्रचारप्रसारका सामान्य रुपमा पर्चापम्ल्पेट बाँड्ने र माइकिङ गरिरहेका देखिन्छन् । भेलाको आयोजना गर्ने र घरदैलो गरेर प्रचार गर्ने कामलाई लक्षित गरेर उम्मेदवारले प्रचारको मुख्य शैली बनाएका छन् ।
चुनावी प्रचारले काम पाउँदा खुशी
यसपटकको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारसम्बन्धी पर्चा बाँड्ने काम पाउँदा मीना चौधरी खुशी छन् । कैलाली क्षेत्र नं ५को जाई गाउँमा पर्चा बाँड्दै गरेको भेटिएका उनले भने, ‘घरमा बेरोजगार भएर बस्नुभन्दा पर्चा बाँडेर केही आम्दानी गर्ने अवसर आउँदा खुशीछु ।’
उनले चुनावी पर्चा टोलवस्तीमा बाँड्ने काम गरेवाफत् दिनमा खाना, खाजासहित रु ५०० ज्याला पाउने गरेको बताए । उनले आफूले प्रत्यासीलाई राम्रोसँग नचिनेको भएपनि उनको पर्चा बाँड्ने गरेको बताए ।
‘आफूले वितरण गरिरहेको पर्चामा उल्लेखित चुनाव चिन्हबारे जानकारी छ, तर उम्मेदवारसँग चिनजान छैन’, उनले भने, ‘आफ्ना लागि दैनिक ज्याला पाउने कुरा ठूलो हो, चुनावमा को जित्ने वा हार्ने भन्ने कुरामा त्यती चासो छैन ।’



