ताजा समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ। हत्याको असफल प्रयासपछि घाइते अवस्थामा अस्पताल भर्ना भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको शुक्रबार उनका निजी चिकित्सकले अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेका छन्।

एक बन्दुकधारीले विरोध प्रदर्शनका क्रममा आक्रमण गर्दा उनीसहित करिब १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले प्रारम्भिक समाचारहरूमा बताएका छन् । गत अप्रिलमा खानलाई सत्ताच्युत गरे यता दक्षिण एसियाली राष्ट्र, पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ ।

पूर्व प्रधानमन्त्री खानका चिकित्सक फैजल सुल्तानले पूर्वी शहर लाहोरको एक अस्पतालबाट शुक्रबार एएफपीलाई बताएअनुसार खानको खुट्टामा गोली लागेको छ ।

७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारले गत हप्तादेखि लाहोरबाट राजधानी इस्लामावादसम्म हजारौंको सङ्ख्यामा चुनावी अभियानको नेतृत्व गरिरहेका थिए ।

इस्लामावादबाट करिब १७० किलोमिटर पूर्वमा रहेको वजीराबादमा बाक्लो भीडलाई छिचोल्दै गर्दा एक बन्दुकधारीले उनी यात्रारत सवारी साधनमा पेस्तोलद्वारा गोली हानेका थिए ।

बन्दुकधारीलाई एक समर्थकले नियन्त्रणमा लिएपछि थप घाइते हुनबाट जोगिएको उनले बताए ।

एक संदिग्धलाई प्रहरी हिरासतमा लिइएको छ । आक्रमणबारे सञ्चारमाध्यममा आएको एक भिडियोमा आरोपित आक्रमणकारीले खानले ‘जनतालाई भ्रमित’ गरेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *