काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर १२ का खेलहरु अब अन्तिम चरण तिर पुगेका छन् । समुह १ मा अब अन्तिम खेल बाँकी रहेको छ । समुह एक मा रहेका सबै ६ देशले ४-४ खेल पुरा गरेका छन् । अब समुह एकबाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने अन्तिम खेलबाट नै लाग्ने देखिएको छ ।
समुह एकमा न्यूजील्याण्ड, ईङल्याण्ड र आयोजक अस्ट्रेलियाको ४-४ खेलपछि समान ५-५ अंक रहेको छ । तिनै देशले आफ्ना २-२ खेल जितेका छन् भने एक-एक खेलमा हार बेहोरेका छन् । त्यस्तै एक-एक खेल बर्षाले रद्ध भएको छ ।
यस समुहमा नेट रनरेटको आधारमा न्युजील्याण्ड शिर्ष स्थानमा छ भने ईङल्याण्ड दोस्रो तथा अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै यस समुहमा श्रीलंका ४ खेलमा ४ अंकका साथ चौथो स्थानमा छ भने आयरल्याण्ड ४ खेलमा ३ अंकसहित पाँचौं र अफगानिस्तान ४ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । अफगानिस्तान सेमिफाइनलको दौडबाट आफ्नो अन्तिम खेल नखेल्दै बाहिरिएको छ ।
त्यस्तै आयरल्याण्डले अब शुक्रबार हुने खेलमा न्यूजील्याण्डलाई पराजित गरेमा ५ खेलमा ६ अंक हुने छ र सेमिफाइनलमा पुग्न ईङल्याण्ड र अस्ट्रेलियाको खेलको नतिजा पर्खिनुपर्ने हुन्छ । त्यस अवस्थामा अस्ट्रेलिया र ईङल्याण्ड दुवै आफ्नो अन्तिम खेलमा पराजित भएर मात्र पनि आयरल्याण्ड सेमिफाइनलमा पुग्न मुश्किल देखिन्छ । त्यस्तो अवस्थामा रनरेटको हिसाब हुने छ ।

त्यस्तै चौथो स्थानमा रहेको श्रीलंकाले आफ्नो अन्तिम खेलमा शनिबार ईङल्याण्डको सामना गर्दै छ । दुवै देशका लागि यो खेल जित्ने पर्ने अवस्था रहेको छ । यस खेल जितेमा ईङल्याण्डको सेमिफाइनलमा पुग्ने सम्भावना सुनिस्चित हुने छ भने श्रीलंकाको लागि अन्य त्यसअघि शुक्रबार हुने खेलको नतिजाले निर्धारण गर्ने छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले शुक्रबार अफगानिस्तानसँग खेल्दै छ । अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएकोले बिना दबाब अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने खेलमा अस्ट्रेलिया जित्ने पर्ने दबाबसहित मैदानमा उत्रिने छ ।
यसरी प्राविधिक रुपमा यस समुहबाट पाँचवटै देश समिफाइनलको दौडमा रहेका छन् र अन्तिम खेलपछि नै सेमिफाइनल पुग्ने दुई देशको टुंगो लाग्ने भएकोले यो समुह रोमाञ्चक रहेको छ ।




