कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्रायथलनमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एक / एक वटा स्वर्ण जितेका छन् । आज (बुधबार) गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्रायथलनमा पुरुषतर्फ आर्मीका वसन्त थारु र महिलातर्फ एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जिते ।
पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमी दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् । महिलातर्फ निर्धारित दूरी १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी गुरुङले स्वर्ण पदक जितिन् ।
प्रतियोगिताको पुरुषतर्फ निर्धारित दूरी १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते भने नेपाल पुलिसका मौलिक महर्जनले निर्धारित दूरी १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै कास्य पदक जिते ।
त्यस्तै महिलातर्फ नेपाल पुलिसकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा दूरी पार गर्दै कास्य जितिन् ।




