खेलकुद

बेन्जेमाले जिते बेलन डे’अर

काठमाडौँ ।रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले मंगलबार आफ्नो जीवनमा पहिलोपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडीका रूपमा बेलन डे’अर अवार्ड जितेका छन् । सन् २०२१–२०२२ को सिजन रियललाई युरोपेली च्याम्पियन्स लिग र स्पेनी ला लिगा दिलाउन उनले ४६ खेलमा ४४ गोल गरेका थिए ।

अवार्डका पछिल्ला १३ संस्करणमध्ये लियोनल मेसी सात र क्रिस्टियानो रोनाल्डो पाँच पल्ट विजेता रहेका थिए । यसपल्ट बेन्जेमापछि बायर्न म्युनिकका साडियो माने दोस्रो तथा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना तेस्रो भए । मानेले पछिल्लो सिजन लिभरपुलका लागि खेलेका थिए । महिलातर्फ एलेक्सा पुटेलास उत्कृष्ट घोषित भइन् ।

उनले गत वर्ष पनि यो अवार्ड जितेकी थिइन् । इंग्ल्यान्डका लागि युरो २०२२ जितेकी आर्सनलकी बेथ मेड दोस्रो स्थानमा रहिन् । म्यानचेस्टर सिटी भने वर्षको उत्कृष्ट क्लब घोषित भए । यसका लागि उनले लिभरपुललाई उछिनेको थियो । विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित अवार्ड पछिल्लो सिजनको प्रदर्शनको आधारमा प्रदान गरिन्छ ।

‘अवार्ड जितेकोमा खुसी छु’

पेरिसमा आयोजित कार्यक्रममा बेन्जेमा सन् १९९८ यता यो अवार्ड जित्ने पहिलो फ्रान्सेली खेलाडी बने । त्यो वर्ष जिनेदिन जिदानले यो अवार्ड जितेका थिए । जिदानले नै उनलाई अवार्ड हस्तान्तरण गरे । अवार्ड हात पारेपछि बेन्जेमाले भने, ‘अवार्ड जितेकोमा म निकै खुसी छु । जति बेला म सानो थिएँ, मैले यो अवार्ड जित्ने सपना देखेको थिएँ ।’

उनले थपे, ‘त्यसैले सबै प्रकारका सम्भावना सम्भव हुन्छ । मैले आफ्नो खेल जीवनमा तय गरेको यात्राका लागि निकै खुसी छुं । यो यात्रा पक्कै पनि सजिलो रहेन् । अहिलेसम्मको यात्राका क्रममा म र मेरो परिवारले अनेक समस्याको सामना गर्नु परेको छ ।’ अब ३४ वर्षीय बेन्जेमाले एक महिनापछि सुरु हुने विश्वकपमा फ्रान्सका लागि चुनौती पेस गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *