काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना फेरी संकट उन्मुख देखिएको छ । च्याम्पियन्स लिगमा खराब प्रदर्सनपछि बार्सिलोनाको आर्थिक संकट फेरी बढ्ने विश्लेषण शुरु भएको छ ।
बुधबार राति च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्ध ३-३ गोलको बराबरीमा रोकिएपछि अब बार्सिलोनाको च्याम्पियन्स लिगमा नकआउट चरणको यात्रा मुश्किल भएको छ । बार्सिलोना आफ्नो घरेलु मैदानमा इन्टर मिलानविरुद्ध बराबरीमा रोकिनु भविष्यमा निकै महँगो पर्ने देखिएको छ ।
बार्सिलोनाको अहिलेसम्म ४ खेलमा एक जित, एक बराबरी र २ खेलमा हारसहित केबल ४ अंक रहेको छ । समुह सी बाट बायर्न म्युनिख नकआउट चरणमा पुगिसकेको छ । अब अर्को स्थानका लागि इन्टर मिलान र बार्सिलोनाबीच प्रतिष्पर्धा रहेको छ । इन्टर मिलान ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोनाले अब बाँकी रहेका दुई खेल बायर्न म्युनिख र भिक्टोरिया प्ल्जेनविरुद्ध खेल्ने छ । अब बाँकी दुवै खेल जिते पनि बार्सिलोनाको नकआउट चरण इन्टर मिलानको प्रदर्शनमा भरपर्ने भएको छ ।
च्याम्पियन्स लिगबाट युरोपा लिगमा जानासाथ बार्सिलोनालाई ठुलो आर्थिक घाटा हुने देखिन्छ । च्याम्पियन्स लिग क्लबहरुको आम्दानीको प्रमुख स्रोत मानिन्छ । गत सिजनमा पनि बार्सिलोनाको आर्थिक संकटको मुख्य कारण च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिनु रहेको थियो ।
बार्सिलोनाले यस सिजनमा नयाँ खेलाडी भित्र्याउन सबै सम्भव भएसम्मका खर्च गरेको छ । बार्सिलोनाले यस सिजनमा खेलाडीमाथि गरेको लगानी अनुसार ला लिगामा त राम्रै प्रदर्शन गरिरहेको छ तर च्याम्पियन्स लिगको प्रदर्शनले क्लबको लगानीलाई प्रतिबिम्बित गर्न नसकेको खेल विश्लेषकहरुले बताएका छन् । च्याम्पियन्स लिगमा नकआउट चरणमा नपुग्दा बार्सिलोनालाई मिलियन डलर घाटा हुने र क्लब फेरी आर्थिक संकटमा फस्ने विश्लेषण भएको छ । च्याम्पियन्स लिगको कम्जोर प्रदर्शनपछि पहिलो पटक मुख्य प्रशिक्षक जाभी दबाबमा देखिएका छन् ।




