मुख्य समाचार

चीनमा कसरी छानिन्छन् शीर्ष नेता?

चीनका सबैभन्दा महत्वपूर्ण निर्णयहरु कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिट्ब्युरो र सात सदस्यीय स्थायी समितिले गर्ने गर्छ। तर, ती समितिका सदस्यहरु कसरी छानिन्छन् भन्ने कुरा सधैँ अस्पष्ट रहँदै आएको छ। र, पछिल्लो १५ वर्षमा त यो कुरा झनै धमिलो बनेको छ।

पार्टीको राष्ट्रिय सम्मेलनलगत्तै नवनिर्वाचित केन्द्रीय समितिले पोलिट्ब्युरोका सदस्यहरुको सूची र स्थायी समिति सदस्यहरुको नाम अनुमोदन गर्नेछ।

पोलिट्ब्युरो सदस्य छनोट प्रक्रिया यसअघिको पार्टी सम्मेलनमा लागू भएकै प्रोटोकलअनुसार अघि बढ्ने अपेक्षा छ। जसमा सम्मेलनअघि नै बस्ने ससाना बैठकहरुमा मनोनयन हुने गर्छ। ती बैठकमध्ये धेरैजसोमा पार्टीका महासचिव सी चिनफिङ सहभागी हुने गर्छन्।

नयाँ नेतृत्वपंक्ति सार्वजनिक भइसकेपछि मात्रै छनोट प्रक्रियासम्बन्धी सीमित विवरण खुलासा गरिनेछ। पाँच वर्षअघि सो पार्टीले वरिष्ठ अधिकारीहरुले मतदानमा धाँधली गरेपछि नयाँ तरिका अपनाइएको बताएको थियो।

मनोनितहरुको सूचीलाई अन्तिम रुप दिइसकेपछि त्यसलाई पार्टीका अनेक निकायबाट अनुमोदन गरिनेछ। सो क्रममा केही परिवर्तनहरु हुन सक्छन्।

२०१७ को सम्मेलनअघि अप्रिलदेखि जुनसम्म सीले ५७ बहाल तथा अवकाशप्राप्त नेताहरुलाई भेटेर उनीहरुको मनोनयन लिएका थिए। अन्य अधिकारीहरुले मन्त्री स्तरका २५८ जनालाई भेटेर त्यससम्बन्धी राय बटुलेका थिए।

त्यस्ता धेरैजसो बैठकहरु बेइजिङको चोङनानहाइ परिसरमा हुने गर्छ। जहाँ पार्टीका शीर्ष नेताहरु बस्ने र काम गर्ने गर्छन्।

पार्टीको पोलिट्ब्युरो, स्थायी समिति, केन्द्रीय सैन्य आयोग र सात सदस्यीय पार्टी सचिवालयका लागि यसरी मनोनयन गरिन्छ। त्यस्तै, स्टेट काउन्सिलका प्रमुख सदस्यहरु, नेसनल पिपुल्स कंग्रेसका सदस्यहरु तथा चाइनिज पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्समा पार्टीको प्रतिनिधित्व गर्ने सदस्यहरुको पनि मनोनयन हुने सिन्ह्वाले जनाएको छ।

मनोनित हुनका लागि उमेर र वर्तमान पदका विषयमा पार्टीले सामान्यतः विशेष योग्यता तोक्ने गर्छ।

पोलिट्ब्युरोमा २००२ यता कम्तीमा एक महिलालाई सहभागी गराउने गरिएको छ। तर, जातीय अल्पसंख्यकमध्येबाट सदस्य समावेश हुने कुनै ग्यारेन्टी छैन।

२०१७ मा नेताहरुले ती सदस्यहरुको मनोनयनका लागि ककसलाई भेटे, तिनले कसको नाम लिए र उनीहरुले मनोनित गरेको व्यक्ति सम्बन्धित समितिमा रहन सफल भयो या भएन भन्ने स्पष्ट छैन।

त्यो वर्ष मनोनितहरुको एउटा सूची सुरुमा सम्मेलनभन्दा दुई हप्ताअघि सेप्टेम्बरको अन्त्यमा भएको स्थायी समिति बैठकले पारित गरेको थियो। त्यसपछि सो सूचीलाई पोलिट्ब्युरो बैठकले अनुमोदन गरेर नवनिर्वाचित केन्द्रीय समितिमा पठाएको थियो।

त्यो वर्षको मनोनयन प्रक्रिया अघिल्ला दुई सम्मेलनको भन्दा निकै अलग थियो। त्यसअघिका सम्मेलनहरुमा सयौँ शीर्ष अधिकारीहरुले ठुल्ठूला बैठकमा मतदानमार्फत मनोनयन गरेका थिए। सोही मतदानको नतिजाका आधारमा मनोनितहरुबारे पोलिट्ब्युरो सदस्यले थप छलफल गर्ने गर्थे।

२००७ मा त पार्टी सम्मेलनभन्दा पाँच महिनाअघि नै केन्द्रीय समितिका पूर्ण तथा वैकल्पिक सदस्य गरी ४०० भन्दा बढी नेताहरु बेइजिङमा भेला भएका थिए। हरेकलाई पोलिट्ब्युरो सदस्य मनोनित गर्न सुन्तला रङको मतपत्र दिइएको थियो। तत्कालीन राष्ट्रपति हु चिन्ताओले सो मतदानलाई पार्टीको आन्तरिक लोकतन्त्रका लागि महत्वपूर्ण भन्दै प्रशंसा गरेका थिए।

पाँच वर्षपछि २०१२ मा स्थायी समिति सदस्यको मनोनयन गर्न पनि मतदान भएको थियो।

तर, २०१२ मा गम्भीर धाँधलीका भएका कारण मतदान रोकिएको सिन्ह्वाले २०१७ मा जनाएको थियो। जसले तीन शीर्ष नेताहरुमाथि दोष लगाएको थियो।

उनीहरुमा २००७ देखि २०१२ सम्म स्थायी समिति सदस्य रहेका सुरक्षा प्रमुख चाउ योङकाङ, २००७ देखि २०१२ सम्म पोलिट्ब्युरो सदस्य रहेका चङकिङका पार्टी प्रमुख सुन चेङकाइ र २००७ देखि २०१२ सम्म राष्ट्रपति हु चिन्ताओको चिफ अफ स्टाफ रहेका लिङ चिहुवा थिए।

उनीहरु तीनै जनालाई भ्रष्टाचार आरोपमा जेल हालिएको छ। पार्टीको एकतालाई भंग गर्न आफ्नै गुट बनाएको आरोप पनि उनीहरुमाथि छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *