किभ । राजधानी किभसहित कैयौ युक्रेनी शहरहरुमा सोमबार भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका राष्ट्रिय प्रहरी स्रोतले जानकारी दिएको छ ।
रुसले किभमा ठूला हमलाहरु गरेको र अधिकांश क्षेप्यास्त्र राजधानीको केन्द्रमा परेका जनाइएको छ । पाँच जनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका राष्ट्रिय प्रहरी सेवाले फेसबुकमार्फत एक विज्ञप्तिमा जानकारी दिएको छ । मस्कोले जोड्ने पुलमा विस्फोटको लागि युक्रेनलाई दोष लगाएको एक दिनपछि यसप्रकार क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ ।
देशका धेरै शहरहरूमा क्षेप्यास्त्र आक्रमणको चपेटामा रहेका र जनतालाई आश्रयमा बस्न युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले सामाजिक सञ्जालमा आह्वान गरेका छन् । किभमा रहेका एएफपी संवाददाताहरूले स्थानीय समयानुसार सोमबार बिहान ८ः१५ बजे ठूलो विस्फोटहरु भएको बताएका छन् ।
एक क्षेप्यास्त्र बालबालिकाको खेल मैदान नजिकै अवतरण भएको एएफपी पत्रकार जानकारी दिएका छन् । त्यो स्थानमा रहेको ठूलो खाडलबाट धुवाँ निस्किरहेको जनाइएको छ । युक्रेनको राजधानीमा रुसी आक्रमण जारी रहेको र सहरको केन्द्रहरुमा क्षेप्यास्त्र प्रहार भएका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा भनेका छन् ।
युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका छन् । जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताए पनि यसको स्वतन्त्रपूर्वक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।
आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा लेखेका छन्, ‘रुसले हामीलाई नष्ट गर्न चाहन्छ, हामीलाई पृथ्वीबाट मेटाउन चाहन्छ । युक्रेनभरि यसको घन्टी बजिरहेको छ ।’ किभलगायत अन्य सहरमा भएका आक्रमणमा जनधनको क्षति भएकोले उनले आफ्ना नागरिकलाई बंकरमा बस्न अपिल गरेका छन् ।




