ताजा समाचार

डा. केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु

काठमाडौँ ।धनगढीमा ७ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

सरकारले केसीसँग संवाद गर्न शुक्रबार वार्ता टोली गठन गरेको थियो । सरकारले कार्यालयका सचिव रामप्रसाद रिजालको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेका छन् । केसी पक्षले डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी सदस्य रहेको वार्ता टोली गठन गरिएको छ ।

डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेका छन् । चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ । उक्त अस्पतालका चिकित्सको नेतृत्वमा उनको स्वास्थ्य परीक्षण गर्न कमिटी गठन भएको छ । शनिबार डा. केसीको अनशनमा समर्थन जनाउँदै काठमाडौं र धनगढीमा समेत प्रर्दशन भएको थियो । देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने; जनसंख्या वृद्धि अनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने; सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुनुपर्ने; सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने; मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग अघि सारेका छन् ।

२०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने; गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ । उनले सरकारसँग स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्डविपरीतका नियुक्ति खारेजी; मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत ७ बुँदे माग राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *