काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको मार्की प्लेयर घोषणा गरेको छ । क्यानले शनिबार ड्राफ्टबाट सहभागी ६ टिमका लागि मार्की प्लेयरको घोषणा गरेको हो ।
जसमा पोखरा एभेन्जर्सका लागि आसिफ शेख, लुम्बिनी अल स्टारका लागि दीपेन्द्र सिंह ऐरी, कान्तिपुर क्यापिटलका लागि ज्ञानेन्द मल्ल, फार वेस्टर्स युनाइटेडका लागि करण केसी, विराटनगर सुपर किंग्सका लागि रोहित पौडेल र जनकपुर रोयल्सका लागि सोमपाल कामी रहेका छन् ।
प्लेयर घोषित सबै खेलाडी क्याटेगोरी ए का रहेका छन् भने उनीहरुलाई १५- १५ लाख दिइने छ ।
त्यस्तै ड्राफ्टबाट ए क्याटेगोरीका अर्का खेलाडी शरद भेषावकरलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको क्यानले जानकारी दिएको छ ।
क्याटेगोरी ए मा भएकामध्ये आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अविनाश बोहरा र सुवास खकुरेल भने बी क्याटेगोरीमा झरेका छन् ।
टी-२० लिगको ड्राफ्टमा ९२ जना थिए । त्यसमध्ये पहिलो दिन टिमहरुले ७ खेलाडी लिए । अब बाँकी ड्राफ्ट दोस्रो दिन आइतबार हुने क्यानले जनाएको छ ।
६ टिमले नेपाली खेलाडीहरुबाट हरेक टिमले ११-११ खेलाडी लिने क्यानले जानकारी दिएको छ ।





