ताजा समाचार

क्यानलाई पत्र लेख्दै प्रहरी, क्यारेबियन प्रिमियर लिग खेल्न पाउलान् सन्दीपले ?

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने अहिले वेस्ट इन्डिजमा छन्, नेपालमा भने उनलाई ‘बलात्कार’काे आराेप लागेकाे छ । गत भदाै ५ गते राति केन्या जानुअघि आफूलाई बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले प्रहरी वृत्त गाैशालामा जाहेरी दिएकी छन् । उनले दिएकाे जाहेरीमा दिउँसाेभरि भक्तपुरका विभिन्न ठाउँ घुमाएकाे र राति एक हाेटलमा लगेर पटक-पटक बलात्कार गरेकाे उल्लेख छ ।

यसपछि केन्याबाटै क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप के गर्छन् ? क्रिकेट संघ (क्यान) ले उनलाई तत्काल नेपाल बाेलाउँछ कि बाेलाउँदैन ? उनीविरुद्ध दिइएकाे जाहेरीकाे प्रक्रिया के हुन्छ भन्ने स्वाभाविक सवालहरू उब्जिएका छन् । उसाे त लामिछानेविरुद्ध अनुसन्धान शुरू भएकाे नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई बताउँछन् । ‘जाहेरीमा उल्लेख भएकाे घटनास्थल र पीडित भनिएकी व्यक्तिको बारेमा हाल अनुसन्धान भइरहेकाे छ, थप बुझ्ने काम नेपाल प्रहरीले गरिरहेकाे छ,’ प्रवक्ता राईले भने, ‘पीडित भनिएकी नाबालिगको स्वास्थ्य परीक्षणबाट पनि केही प्रमाण आउनेछ । हामी अनुसन्धानकाे क्रममा छाैँ । हाम्रो टोलीले बसेर कता के गर्ने भन्ने बारेमा निर्णय गर्छ । केही छिनमा बस्दैछाैँ । त्यसपछि हामी एउटा निचाेडमा पुगेर काम थाल्छाैँ ।’

सन्दीपमाथिकाे अनुसन्धानमा सहज हाेस् भनेर प्रहरीले क्यानलाई पत्रसमेत लेख्ने भएकाे छ । ‘क्यानलाई पत्र पठाउने बारेमा पनि छलफल भइरहेकाे छ,’ प्रवक्ता राईले भनेका छन्, ‘सम्भवत: क्यानलाई आजै पत्र पठाउँछ हाेला नेपाल प्रहरीले । अहिले घटनाको प्रारम्भिक अनुसन्धानकै क्रममा छाैँ । यसैले अनुसन्धान अधिकृतले तत्काल नेपाल झिकाउन आवश्यक छ भनेकाे खण्डमा हामी एक्सनमा जान्छाैँ । हाल अनुसन्धानमा रहेकाले यसै भन्न सकिने अवस्था छैन । सम्भवत: क्यानलाई लेखिएकाे पत्रमा झिकाइदिनू भन्ने व्यहाेरासमेत हुनसक्छ,’ उनले भनेका छन् ।

सन्दीप उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । उनी जमैका तालावामा आबद्ध छन् । उनीसँगै ६ गते केन्या प्रस्थान गरेका खेलाडीहरू बुधबार बिहान काठमाडाैँ आइपुगेका छन् । उनले भने केन्यासँगको एकदिवसीय क्रिकेट नखेली सीपीएलका लागि प्रस्थान गरेका थिए । अहिले क्यानकाे बैठक बस्दैछ । क्यानकाे निर्णयपछि उनले अब त्यहाँ लिग खेल्न पाउने/नपाउने टुंगो लाग्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *