ताजा समाचार

भुत्ते-आयुर्वेद सडकखण्डको ढलान अधुरै, ठेकेदार बीचमै काम छाडेर बेपत्ता

खोटाङ।खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम अधुरै छाडिएको छ। काम गर्ने ठेकेदार कम्पनीले निर्माणको काम बीचमै छाडेको हो।

जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारले ढलान गर्दागर्दै फलामे रड बिछ्याएर काम छाडेपछि हिँडडुल गर्न समेत समस्या भएको छ। सडकको केही ठाउँमा ढलान गरिएको छ भने केही ठाउँमा रड मात्र बिच्छ्याइएको छ।

ढलान गर्न तयारी गरिएको अवस्थामा २ महिनादेखि ठेकेदार बेपत्ता भएको स्थानीयले बताएका छन्।

सडकमा रड बिच्छ्याएर छाडेपछि पशुचौपाया हिँडाउन समेत समस्या भएको स्थानीय टंकप्रसाद आचार्यले बताए। ‘हामीले लेकबेंसी गर्नेदेखि पानीपधेंरो जाने बाटो यही हो,’ उनले भने, ‘गाईवस्तु यही बाटो हिँडाउनुपर्छ तर बाटोभरि रड बिच्छ्याएर छाडिएको छ। रडमा अल्झिएर खुट्टा भाँचिन्छ भन्ने ठूलो डर छ। यसप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी (सीडीओ) सूर्यप्रसाद सेडाईंको टोलीले बुधवार सडकको अनुगमन गरेको छ। अनुगमनकै क्रममा निर्माण कम्पनीका प्रमुखलाई सीडीओ सेडाईंले फोनमार्फत तुरुन्त काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

८० घनमिटर आरसीसी ढलान, ९१ घनमिटर सोलिङ र ८४ घनमिटर मशिनरी वाल निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाले ४२ लाख ३२ हजार रुपैयाँको इस्टिमेट निकाले पनि निर्माण कम्पनीले २३ लाख ६८ हजार रुपैयाँमा ठेक्का पाएको थियो। इस्टिमेटभन्दा झण्डै आधा रकममा यसै वर्ष वैशाखमा काम सक्ने २०७८ माघमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।

बीचैमा छाडिएको सडकको काम तत्काल सम्पन्न गरेर सहजता नबनाए कानुनी प्रक्रिया अगाडि बढाइने नगर प्रमुख भट्टराईले बताए। ‘सडक ढलानमा ठेकेदारको लापरबाही देखिएको छ,’ उनले भने। म्याद सकिएको ४ महिना भइसक्दा पनि ७० प्रतिशत मात्र काम पूरा भएको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनीयर सञ्जयकुमार चौधरीले बताए।

यसैबीच सोही निर्माण कम्पनीले नगरभित्रकै अन्य २ योजना पनि अधुरै छाडेको पाइएको छ। हाडडाँडा काफ्ले गाउँ–धुम्ती बरडाँडा सडकको ढलान, सोलिङ र मेसिनरी वाल निर्माण ४५ प्रतिशत मात्र भएको इन्जिनीयर चौधरीले बताए। ६६ लाख २२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको योजनाको गत जेठमै म्याद सकिएको हो।

दोर्पा–दुम्ली सडकको काम पनि सोही निर्माण कम्पनीले जिम्मा लिए पनि काम सम्पन्न नगरी छाडेको छ। ४२ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको योजनाको म्याद पनि गत वैशाखमा सकिएको हो।

काम सम्पन्न गर्न सम्झौता मिति सकिँदा पनि सरकारको सार्वजनिक खरिद १२औं संशोधन नियमावली २०७९ अनुसार देशभरका सबै योजनाको सम्झौता अवधि १ वर्षलाई थपिँदा निर्माण कम्पनीलाई सहज भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *