बागमती प्रदेश

वाग्मती प्रदेशसभामा कांग्रेस अनुपस्थित

वाग्मती। वाग्मती प्रदेशका नेपाली कांग्रेसका सांसद तथा मन्त्रीहरूले फेरि मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई यसअघिको मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने सत्तारुढ गठबन्धनबिच भएको सहमति कार्यान्वयन गर्न थप दबाब बढाएका छन् ।

मुख्यमन्त्री पाण्डेले यसअघि आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने भन्ने सहमति कार्यान्वयन नगरेकै कारण आज १ बजे भएको वाग्मती प्रदेश सभाको बैठकमा कांग्रेसका सांसद तथा मन्त्रीहरू नै अनुपस्थित भए ।

नेपाली कांग्रेसका एक सांसदका अनुसार सत्ता सञ्चालनमा भएको यसअघिको सहमति मुख्यमन्त्री पाण्डेले कार्यान्वयन नभएको बताए । ती सांसदले भने, ‘मुख्यमन्त्री पाण्डेले इमानदारी प्रस्तुत गर्नुभएको छैन, कांग्रेस एकीकृत समाजवादीबिच ६/६ महिना अर्थात् आधाआधा कार्यकाल वाग्मतीको सत्ता चलाउने गरी सहमति भएको थियो, तर उहाँ (राजेन्द्र पाण्डे)ले सहमति पालना गर्नुभएको छैन, हामी उहाँलाई यसअघिको सहमति पालना गर्न दबाब दिएका छौँ ।’ उनका अनुसार दबाबस्वरूप नै आजको बैठकमा कांग्रेसका धेरै सांसद तथा मन्त्रीहरू अनुपस्थित भएका हुन् ।

बैठकमा कांग्रेस सचेतक छिरिङ दोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलको उपस्थिति थियो । बजेट पारित भएसँगै अबको वाग्मतीको चुनावी सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने अडान कांग्रेसका सांसदहरूले गरेका छन् ।

यसअघि मुख्यमन्त्री पाण्डेलाई नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न दबाब दिनको लागि सत्तारुढ गठबन्धनकै कांग्रेस र माओवादीका सांसदहरूले हस्ताक्षर संकलन गरेका थिए, तर हस्ताक्षर अभियान बिचमै रोकियो । मुख्यमन्त्री पाण्डेले केन्द्रमै शीर्ष नेताबिच सहमति भएको खण्डमा मात्र आफूले पद त्याग्ने अभिव्यक्ति दिएपछि हस्ताक्षर अभियान बिचमै रोकियो । मुख्यमन्त्री पाण्डेलाई पद त्याग्ने विषयमा केन्द्रका कुनै किसिमको सहमति हुन सकेन ।

एमालेसँग प्रदेशसभामा ४१ सांसद रहेका छन् । नेकपा एसका १३ जना छन् । प्रदेशसभामा बहुमतका लागि ५४ सांसद भए पुग्छ ।

प्रदेशसभामा कांग्रेसका २२ जना सांसद रहेका छन् । सरकारमा कांग्रेसका ५ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *