काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई देश छोड्न सहयोग गरको आरोप लागेपछि श्रीलंकास्थित भारतीय उच्चायोगले स्पष्टीकरण दिएको छ ।
उच्चायोगले गोटाबाया राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई श्रीलंकाबाट बाहिर पठाउन भारतले सहयोग गरेको मिडिया रिपोर्टको खण्डन गरेको छ ।
आफ्नो विज्ञप्तिमा, उच्च आयोगले श्रीलंकाका जनतालाई समर्थन गर्ने कुरा दोहोर्याएको छ ।
चर्को विरोधका बीच राष्ट्रपति गोटाबाया सैन्य जेटमा गएराती देश छोडेर भागेका छन् ।
७३ वर्षीय गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी माले पुगेको मिडिया रिपोर्टमा जनाइएको छ । गोटबायाले यसअघि आज राजीनामा दिने घोषणा गरेका थिए । उनले राजीनामा संसदका सभामुखलाई हस्तान्तरण गरेको बताइएको छ ।
यसअघि गत असार १० गते उच्चायोगले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भारतले आफ्नो सेना श्रीलंका पठाएको भनी भइरहेका समाचारको खण्डन गरेको थियो ।




