ताजा समाचार

उपत्यकामा साउन १ देखि सबै नगरपालिकाभित्र फोहोर वर्गीकरण गरिने

काठमाडौँ । फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफूहरुको साथ-सहयोग रहने काठमाडौं उपत्यकाका नगर प्रमुखहरुले बताएका छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज (सोमबार) राष्ट्रिय सभा गृहमा बसेको बैठकमा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो ।

बैठकको मुख्य विषय दिगो फोहोरमैला व्यवस्थापन थियो । बैठक सुरु गर्दै प्रमुख शाहले भने, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन् । यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौं । साझा समस्यामध्ये फोहोरमैला व्यवस्थापनको विषय आजको छलफलमा मुख्य विषय हो ।’

‘महानगरले काम पनि गरिरहेको छ । नेतृत्व पनि गरिरहेको छ । भोलि पनि यसलाई निरन्तरता दिनेछ । फोहोर व्यवस्थापनका लागि परम्परागत विधिबाट काम थाल्ने विषयमा प्रमुख शाहले भने, ‘घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ । यो विधि शतप्रतिशत प्रभावकारी छ । फोहोरलाई ग्याँसका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो । यस्तै विजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्छ । यसका लागि सहकार्य गरौँ ।’

प्रमुख शाहको यो प्रस्तावपछि अन्य पालिकाका प्रमुख उपप्रमुख तथा प्रतिनिधिले धारणा राखेका थिए । त्यसक्रममा उनीहरुले आफूहरुले गरिरहेको अभ्यास र अन्य नगरको सम्बन्धका विषयलाई जोड दिएका छन् । ‘उपत्यकाको एकीकृत र दिगो फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले अगुवाई गर्नुपर्छ । नेतृत्व लिनुपर्छ । हामी हाम्रो ठाउँबाट जिम्मेवारी पूरा गछौँ । काठमाडौँ महानगरसँग स्रोत छ । व्यवस्थापनका लागि जग्गा छैन । हामीसँग जग्गा हुन सक्छ । स्रोत छैन । त्यसैले हामीसँग जग्गा छ भने सहकार्य गरौँ यसमा महानगरले लगानी बढाउनु पर्छ ,’ प्रमुखहरुले भने, ‘साझा संकल्प गरौं ।’

बैठकमा फोहोर व्यवस्थापनको दिगो समाधानका लागि स्रोतमा वर्गीकरण गर्नुपर्ने, उत्पादनमा कमी ल्याउने विधि अपनाउनु पर्ने, प्लाष्टिकको विकल्पमा झोलाहरुको प्रयोग बढाउनुपर्ने, शून्य फोहोर (जिरो वेस्ट) अवधारणाको प्रवर्धन गर्नुपर्ने, उपत्यकाभित्र फोहोर व्यवस्थापनको विधि एउटै हुनुपर्ने जस्ता धारणा आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *