वासिङटन । अमेरिकाको सिकागो नजिकै सोमबार आयोजित परेडमा ६ जनाको हत्या गरेका सन्दिग्ध व्यक्तिले हप्तौं लगाएर हिंसात्मक हमलाका लागि योजना बनाएको प्रहरीले जनाएको छ ।
ती २१ वर्षीय रोवर्ट क्रिमोले आक्रमणमा प्रयोग गर्नकै लागि अत्यन्त शक्तिशाली राइफल खरिद गरेको सुरक्षा अधिकारीहरूको दावी छ । आक्रमण लगत्तै भागाभाग भएको भिडमा मिसिएर भाग्नका लागि रोवर्ट महिलाको भेषमा आएको हुनुपर्ने पनि प्रहरीको भनाइ छ ।
सोमबार अमेरिकाको स्वाधीनता दिवसको अवसरमा हाइल्यान्ड पार्कमा आयोजित परेडमा भएको यस आक्रमणमा अन्य तीस व्यक्ति घाइते भएका छन् । पत्रकार सम्मेलनमा लेक काउन्टी मेजर क्राइम टास्क फोर्सका प्रवक्ता क्रिस कोभेलीले क्रिमोको साथबाट बरामद भएका थुप्रै हातहतियार उनले स्थानीय पसलहरूबाटै खरिद गरेको बताएका छन् ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि उनको कारबाट अर्को एउटा शक्तिशाली राइफल भेटाएको थियो । उनको घरबाट थप हतियार बरामद भएको थियो । आक्रमणका क्रममा उनले सत्तरी राउन्ड भन्दा बढी गोली चलाएको बताइएको छ ।
उनले जातीय वा धार्मिक घृणाका कारण आक्रमण गरेको हुनसक्ने भन्न सकिने आधार फेला नपरेको प्रहरीले जनाएको छ । आक्रमण पछि घरमा पुगेका उनलाई आफ्नी आमाको कार लिएर कतै गइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।




