काठमाडौं । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा खसालेको थियो । कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भएलगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो । मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने उहाँको दाबी छ ।कामपाले स्थानीयसँग सम्झौता भएलगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो ।
सोहीअनुसार सबै वडाले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको हो ।कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले कामपाको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको बताउँदै भने, ‘स्थानीयको माग कार्यान्वयन प्रक्रियासँगै निरन्तर रूपमा फोहोरमैला व्यस्थापन जारी रहनेछ ।’ उनका अनुसार बढीमा १० दिनभित्र उपत्यकाको फोहोरमैला व्यवस्थापन भइसक्नेछ । उहाँले बाटोमा थुप्रिएको र घरबाट फोहोर उठाउन काम निरन्तर रहने बताए । नेपाल समाचार पत्रमा खबर छ ।




