काठमाण्डाै । विराटनगरको अस्पताल चोकमा रहेका होटलमा सोमवार मध्यराति आगलागी हुँदा तीन जना कर्मचारी घाइते भएका छन् । आगो नियन्त्रणमा खटिएका तीन जना दमकलका कर्मचारी घाइते भएका हुन् ।
राति १२ः१५ बजेतिर शुरू भएको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा डेढ घण्टापछि १स्४० मा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगोले एक करोडभन्दा बढीको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
दमकलबाट पानी हालेर आगो निभाउने क्रममा कर्मचारीहरू विराटनगर–४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहवी–१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । सामान्य अवस्थाका उनीहरूको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
ग्यास सिलिन्डर विष्फोट हुन थालेपछि आगो झन् फैलिएको थियो । सिलिन्डर विष्फोटका कारण आगो नियन्त्रणमा समस्या भएको थियो ।
आगोले विराटनगर महानगरपालिका–९ मा शोभादेवी घिमिरेको जग्गामा टिनको छानो लगाएर बनाइएको घरमा सञ्चालन गरिएका होटल तथा पसलहरूमा पूर्ण रूपले क्षति पुर्याएको डिएसपी श्रेष्ठले बताए । घर पूर्ण रूपमा ध्वस्त हुँदा ४० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
शोभादेवीका छोरा कुमारप्रसाद घिमिरेले सञ्चालन गरेको किराना पसल, विराटनगर–८ का छविलाल उप्रेतीको कपडा तथा भाँडा पसल, विराटनगर–७ का विनोद राजवंशीले सञ्चालन गरेको न्यू राजवंशी होटल र विराटनगर–८ का दीपनारायण राजवंशीले सञ्चालन गरेको दिपेश होटल आगोले ध्वस्त बनाएको छ । आगलागी हुँदा घिमिरेको पसलभित्र रहेको नगद ५ लाख जलेको छ । पसल जल्दा २० लाखभन्दा बढीको क्षति पुगेको प्रहरीको भनाइ छ ।




