काठमाडौं । सत्ता गठबन्धनको बैठकमा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सकस देखिएको छ । ६ वटा महानगरपालिकामा चार दलबीच सिट बाँडफाँटमा छलफल भए पनि पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीको बीचमा विवाद बढ्दा सहमति जुटन सकेन ।
सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा गठबन्धन दलका शीर्ष नेता र स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका सदस्यहरूको दुईपटक बैठक बसे पनि सहमति जुटन सकेन । बैठकमा दलहरूले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ–आफ्नै दाबी पेस गरेका थिए । महानगर र उपमहानगरमा दलहरूले आ–आफ्नै दाबी नछोडेपछि ३ घण्टा बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसलगत्तै दिउँसो पनि गठबन्धनको बैठक बसेको थियो । तर, दलहरूको अडानका कारण सहमति जुटन सकेन ।
सत्तारुढ दलबीच कांग्रेसले तीन, माओवादीले एक, एकीकृत समाजवादीले एक र जनता समाजवादीले एक महानगरपालिका लिने समझदारी बनेको छ । तर, पोखरा महानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच विवाद चुलिएका कारण सहमति निर्माण सकेन । सत्ता गठबन्धनबीच काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेसले लिने, भरतपुर महानगरपालिका माओवादी केन्द्र, वीरगन्ज महानगरपालिका जसपा र पोखरा महानगरपालिका एकीकृत समाजवादीले लिने गरी गृहकार्य भइरहेको बताइएको छ ।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता देव गुरुङले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमतिनजिक पुगेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सम्मानजनक रूपमा सिट बाँडफाँट गर्दा धेरै समय लाग्दैन, विभिन्न कोणबाट छलफल भइरहेको छ, हामी छिट्टै सहमतिमा पुग्छौं ।’
पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिन कांग्रेस तयार भए महानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुट्ने एक नेताले बताए । कांग्रेसले अडान छोडनेबित्तिकै महानगरपालिकामा समस्या नहुने जिकिर गर्दै उनले भने–‘उपमहानगरपालिकाबारेको छलफल पनि सहमति नजिक छ ।’ स्रोतका अनुसार ११ वटा उपमहानगरपालिकामा कांग्रेसले ६ वटामा दाबी गरेको छ । त्यसै गरी माओवादी केन्द्रले तीन, जसपाले दुई र एकीकृत समाजवादीले तीन वटामा दाबी गरेका छन् । आजको नेपाल समाचार पत्रमा खबर छ ।




