काठमाडौं । निर्माण कार्य सम्पन्नभई व्यवसायीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।
यसै गरी मन्त्री आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलका सेवाहरू २४ घण्टा सुचारु गराउन समेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।
पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले यही वैशाख ८ गतेदेखि विमानस्थलमा आन्तरिक उडान शुरु गर्ने छन् । अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनबाट शुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजको नेपालसमाचार पत्रमा खबर छ ।




