ताजा समाचार

चालक नभएर थन्कियो ब्रुमर

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपियाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ । ब्रुमर नभएपछि कामपाले बाटो बढार्न सकेको छैन ।

ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । करिब दुई साता अघि ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो । कामपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण ब्रुमर थन्किएको स्वीकार्दै नेपाल समाचारपत्रसँग आइतबार भन्नुभयो– ‘सम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रकिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ ।’ हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ ।

सभागृहमा धुलाम्य अवस्थामा रहेको ब्रुमर हेर्दा ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्था छ । कामपाका एक कर्मचारी भन्छन्– ‘हामीले हेर्दा त ब्रुमरले बाटो सफा गर्ने होइन, अब कामपाका कर्मचारीले ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्थामा छ ।’ आफूहरूले तत्काल चालक खोजेर ब्रुमर सञ्चालन गर्न आग्रह गरिरहेको भए तापनि तैपनि कसैले नसुनेको उनको गुनासो छ ।

कामपासँग सातवटाबाहेक तिब्बत सरकारले दिएको दुईवटा र २०७१ सालमा सम्पन्न सार्क सम्मेलनमा खरिद गरिएको सानो आकारको एउटा गरी १० वटा ब्रुमर छ । तीमध्ये तीनवटा कामपाको टेकुस्थित ट्रान्सफर्म स्टेसनमा राखिएको छ । चोभारस्थित सुख्खा बन्दरगाह उद्घाटन गर्ने क्रममा सरकारले ब्रुमर मागेकाले बल्लतल्ल एउटा ब्रुमर पठाइएको स्मरण गर्दै ती कर्मचारीले भने– ‘त्यसपछि अहिलेसम्म कुनै चलेको देखेका छैनौं ।’

स्रोतका अनुसार खर्च बढी हुने भएकाले कामपाले ब्रुमर चलाउन चाहेको छैन । एउटा ब्रुमर सञ्चालन गर्दा दैनिक करिब १५ हजार रुपियाँ लाग्ने देखिएपछि सञ्चालन नभएको हो । कामपाले इटालियन ब्रुमर सञ्चालन गर्न एउटा चालकका लागि वार्षिक करिब १६ लाख रुपियाँ तिर्ने गरेको थियो । म्याद सकिएपछि घर फर्किएका चालकले पुनः ब्रुमर चलाउन चासो देखाए पनि कामपाले वास्ता नगरेको त्यहींका कर्मचारीले बताए । ब्रुमर नहुँदा राजधानीको बाटो धुलाम्य भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *