काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राति १० बजे असन पुगी सेतो मच्छेन्द्रनाथको रथको पूजा आराधना गरी प्रसाद ग्रहण गरेकि छिन् ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाअघिबाट सेतो मच्छेन्द्रनाथको रथ तानी असन ल्याएको राति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा छ । असनमा पूजा आराधना एवं दर्शनपछि राष्ट्राध्यक्षले प्रसाद ग्रहण गर्ने विधिअनुसार राष्ट्रपति भण्डारी शनिबार राति १० बजे असन पुगेको काठमाडौँ महानगरपालिका वडा नंं २५ का अध्यक्ष, सेतो मच्छेन्द्रनाथका पुजारी एवं जात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।
तीनधारा पाठशालाअघि एक हप्ताअघिदेखि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि देशभर वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ ।
तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । रथ लगेर बिसाएका स्थानमा करुणामय भगवान् लोकेश्वरको पूजा आराधनाका लागि भक्तजनहरु जम्मा हुने गर्दछन् । सेतो मच्छेन्द्रनाथलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले विधिपूर्वक पूजा आराधना गर्छन् । काठमाडौँमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा हुने गरेको छ ।




