काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए ।
विदेशमन्त्री वाङको भ्रमणको विषयमा परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँग सम्भावित एजेन्डाको विषयमा गृहकार्य गरिरहेको एक सरकारी अधिकारीले बताए । नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
१३ साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाउन हुनेछन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यसअघि नै चीनका विदेशमन्त्रीले गत अक्टोबरमा परराष्ट्रमन्त्री नारायण खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएको थियो । तर, सो समयमा नेपालबाट चीनका लागि कुनै पनि उडान नभएकाले खड्का बेइजिङ जान सकेका थिएनन् ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना ९एमसीसी० अनुदानको विषयमा बेइजिङले अमेरिकाको खुलेर आलोचना मात्रै गरेन कडा आपत्ति पनि जनाइरहेका बेला उत्तरी छिमेकी मुलुक चीनले पठाउन लागेको प्रतिनिधिमण्डल पठाउन खोज्नुलाई निकै चासोका साथ हेरिएको छ । हाल दक्षिण एसियामा चीनको उच्चस्तरीय भ्रमण भइरहेका बेला योपटक योजनाअनुसार नै चीनको उच्चस्तरीय भ्रमण हुन लागेको एक अधिकारीले जानकारी दिए ।
सरकारी अधिकारीका अनुसार पछिल्लो समय चीनले अमेरिकी सम्झौता पास भएपछि चासो देखाइरहेका छन् । ‘बेइजिङले अमेरिकी अनुदानको कार्यान्वयनले आफ्नो सुरक्षा र रणनीतिक सरोकारलाई असर गर्न सक्छ कि भनेर चासो राखेको हुन सक्छ, परराष्ट्रका १ अधिकारीले भने, नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई अगाडि बढाउने विषयमा पनि ध्यान केन्द्रित गर्न खोजेको हुन सक्छ ।’
राजधानी दैनिकमा खबर छ ।




