काठमाडौं । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आयोगले ती दलको सम्बन्धमा एकदुई दिनमै निर्णय गर्ने जनाएको छ । आयोगले फागुण ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले मात्र आयोगमा दर्ता गराएको थियो । आयोगबाट मान्यता प्राप्त दलको संख्या १ सय १० भए तापनि ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका हुन् ।
संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ । दल दर्ताका लागि आएका निवेदनको अध्ययन गरेर आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
यसैबीच, निर्वाचन प्रयोजनले दर्ता भएका दलसँगै यस आयोगमा दर्ता कायम रहेका साना दलहरूले आफ्नो दलको चिह्न मतपत्रमा नराखेको भन्दै विरोध जनाएका छन् । निर्वाचन आयोगले शुक्रबार गरेको अन्तक्र्रिया कार्यक्रममा पनि उनीहरूले आफ्नो दलको चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने विषयमा निर्वाचन आयुक्तहरूको ध्यानाकर्षण गराएका थिए । उनीहरूले मंगलबारसम्म आफ्नो माग सुनुवाई भएन भने संयुक्त आन्दोलनमा जाने घोषणा गरेका छन् । राप्रपाका महासचिव भुवन पाठकले आयोगसँगको छलफलमा विगतको निर्वाचनमा जस्तै आफ्नै चुनाव चिह्न प्रयोग गर्न पाउनुपर्ने अन्यथा संयुक्त आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।
आजको नेपालसमाचार पत्रमा खबर छ ।




