काठमाडौं । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औं दिन मंगलबार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ ।
युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले बुधबार समाचारपत्रसँगको कुराकानीमा जर्मनस्थित नेपाली दूतावासमा सम्पर्क गरेका सबै नेपालीहरू युक्रेनबाट सुरक्षित रूपमा बाहिरिइसकेको जानकारी दिनुभयो ।
उहाँको अनुसार युक्रेनबाट जम्मा ५ सय ८० जना नेपाली सुरक्षित रूपमा बाहिरिएका छन् । तीमध्ये ४ सय ६६ जना पोल्यान्ड, ७८ जना स्लोभाकिया, २८ जना रोमानियामा र ८ जना हंगेरी पुगिसकेका छन् । ९ जना भने नेपाल फर्किसकेका छन् । नेपाल फर्केकाहरूमध्ये ५ जना आफ्नै खर्चमा र ३ जना भारत सरकारको सहयोगमा इन्डियन एयरलाइन्सबाट फर्केको राजदूत खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘उद्धार कार्य लगभग सकिएको छ । अब स्वदेश फर्काउने काम बाँकी रह्यो ।’ उहाँले सीमा क्षेत्र फ्रान्कफर्ट ओडारमा अझै १३ जना नेपालीको एउटा समूह अड्किरहेको र उनीहरूलाई छुटाउन दूताबासले सहजीकरण गरिरहेको जानकारी दिंदै भन्नुभयो–‘ उहाँहरूको सहजीकरणको लागि दूतावासका तृतीय सचिव सहारा चौँलागाइँ त्यहाँ पुग्नुभएको छ । उहाँहरूमध्ये राहदानी भएका ५ जनालाई सीमा अधिकारीहरूले छाडिसकेको छन् । एक जनामा कोरोना पोजिटिभ देखिएको छ । ५ जनालाई भोलि बिहान छाड्ने भएको छ । २ जना हराईरहेका छन् । सीमा अधिकारीहरूले उनीहरूलाई पनि खोजिदिने आश्वासन दिएका छन् ।’
नेपाल समाचारपत्रमा खबर छ ।




