ताजा समाचार

युक्रेन-रूस तनावः युक्रेनमा रहेका नेपाली भन्छन् – ‘स्थिति सामान्य छ’

काठमाडौं । युक्रेनमाथि रुसले फेब्रुअरी १६ अर्थात् आगामी बुधबार आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको दाबीसँगै अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासमा अत्यावश्यक काममा खटिएका कर्मचारीबाहेक सबै कर्मचारीलाई राजधानी किभ छाड्न आदेश दिइसकेको छ । त्यति मात्र होइन, अमेरिकाले आइतबारबाट कन्सुलर सेवा समेत बन्द गरी आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेको छ ।

अमेरिकी कदमसँगै क्यानडा, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटाली, नेदरल्यान्ड्स, लात्भिया, जापान, इजरायल, इराक र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरिसकेको छ । युक्रेनको तनावबाट नेपाल पनि अछुतो छैन । युक्रेनमा चिकित्सा शास्त्र र इन्जिनियरिङ पढ्न गएका विद्यार्थीका साथै युरोप जाने चाहनामा युक्रेनमा पुगेका नेपालीको संख्या २ सयको हाराहारीमा भएको अनुमान गरिएको छ ।
त्यहाँ रहेका नेपालीहरूको संख्या र अवस्थाका बारेमा नेपाल समाचारपत्रले राखेको जिज्ञासामा मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूताबासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ ।

युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा ती नेपालीहरूको उद्धार गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयको तयारीका बारेमा सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भन्नुभयो–‘अहिलेसम्म त्यहाँ रहेका कुनै नेपालीले आपत् प¥यो भनेर दूताबाससँग सहयोग मागेको छैन । आवश्यक परे यसअघि संकटग्रस्त अफगानिस्तानबाट नेपालीको उद्धार गरिए झैँ त्यहाँबाट पनि नेपालीलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्नेछौँ ।’ उहाँले युक्रेनको घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको बताउनुभयो ।
नेपालसमाचारपत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *