ताजा समाचार

फागुनबाट विद्यालय खोल्न अनुमति दिने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिँदै भने, ‘सबै तहको परीक्षा सञ्चालन गर्न पनि केही दिन भौतिक रूपमा विद्यालय खोल्नुपर्ने हुन्छ ।

त्यसैले केही दिन कक्षा सञ्चालन गर्नकै लागि पनि विद्यालय खोल्ने तयारी भइरहेको छ ।’ उहाँले विद्यालय खोल्ने विषयमा आगामी साता सीसीएमसीसीको बैठक बसेर निर्णय गरिने बताए । उनका अनुसार कोभिड–१९ संक्रमितको संख्या उच्च दरमा पुगेमा परीक्षाको प्रणाली नै परिवर्तन गर्न सकिने तर त्यस बाहेकको अवस्थामा फागुनबाट विद्यालय खोल्ने तयारी भइरहेको छ ।

शिक्षा तथा मावनस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले माघको तेस्रो सातासम्ममा अधिकांश विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्ने जानकारी दिए। उनले दुवै मात्रा खोप लगाइसकेपछि स्वास्थ्य मापदण्ड पूरा गरी माथिल्लो कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताए। केन्द्रकोे तथ्यांकअनुसार यो महिनाभित्र करिब ४० लाख विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्नेछन् । खोप लगाइसकेपछि फागुन र चैतको दोस्रो सातासम्ममा कक्षा सञ्चालन गरी वैशाखमा अन्तिममा परीक्षा लिने गरी तयारी भइरहेको छ । परीक्षा नजिकिँदै जाँदा सबै विद्यालयलाई भौतिक रूपमै कक्षा सञ्चालन गर्न दिन मन्त्रालय दबाबमा छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले फागुनमा विद्यालय खोलेर चैतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा लिने व्यवस्था नगरे आगामी शैक्षिकसत्र पछि धकेलिन सक्ने बताए । त्यसैले १२ देखि १७ उमेर समूहका सबै विद्यार्थीले खोप लगाएपछि फागुनबाट विद्यालय खोल्दा समस्या नहुने उनको तर्क थियो । मन्त्रालयका प्रवक्ता शर्माले सबै विद्यालयमा करिब दुई महिना कक्षा सञ्चालन गरी परीक्षा लिने विषयमा छलफल भइरहेको बताए । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा एसईई, जेठमा कक्षा १२ को परीक्षा लिने तयारी गरेको छ । ती परीक्षा तयारीका लागि भए पनि भौतिक रूपमा कक्षा सञ्चालन गर्नुपर्ने अभिभावकको राय छ ।
आजको नेपालसमाचार पत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *