काठमाडौं । रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई एकहप्ताभित्र रोयल्टी बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्राचार गरेको छ ।
मन्त्रालयका अनुसार गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिएता पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको जनाएको छ ।
होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पी आवर प्रालि काठमाडौं र सेन्ट्रल मिडिया प्रालि काठमाडौंले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न मंगलबार मन्त्रालयले एक प्रकासित सूचनामार्फत पत्राचार गरेको हो ।
आ.व २०७६ र ७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार रुपैयाँ, ओरियन्टल होटल्स लिमिटेड लाजिम्पाटले १८ करोड ७६ लाख रुपैयाँ, रक इन्टरनेशनल प्रालि काठमाडौंले ११ करोड ४५ लाख ८२ हजार ८ सय ४८ रुपैयाँ, ह्याप्पी आवर प्रा।लि काठमाडौंले २१ करोड ५५ लाख रुपैयाँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौंले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
साथै, पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी दिएका छन् । यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।
क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले लागिपरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको थियो ।




