ताजा समाचार

दुइ मन्त्रालयबीच समन्वय नहुँदा माघ २४ देखि फेरि काठमाडौं र ललितपुरका विद्यालय खोल्नुपर्ने बाध्यता

काठमाडौं । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने तयारी भएकोले त्यसपछि पनि विद्यालय खोल्न आज बिहीबार स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।

यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेकालाई पुनः खोप लगाउन माघ १६ देखि २० गतेसम्म फेरि विद्यालय खोल्ने निर्णय गरिसकेको छ । काठमाडौं र ललितपुरमा पहिलो मात्रा खोप लगाउने विद्यार्थी संख्या न्यून छ । भक्तपुरमा मोडर्ना खोप अभियान सञ्चालन भइसकेको छ ।
दोस्रो मात्रा शुरू भएसँगै पहिलो मात्रा खोप छुटेकालाई पनि लगाइदिने अभियान सञ्चालन गर्नुपर्ने अवस्थामा दुई मन्त्रालयबीचको समन्वय अभावको कारण समस्या देखिएको छ । काठमाडौंका स्वास्थ्य अधिकृत शम्भु काफ्लेले सम्बन्धित जिल्लाका सरोकारवाला निकायबीच छलफल नगरी निर्णय गर्दा समस्या भएको बताउँदै भन्नुभयो– ‘काठमाडौंका १२ देखि १७ वर्ष उमेरका अधिकांश विद्यार्थीले पहिलो मात्रा खोप लगाइसकेका छन् । दोस्रो मात्रा २४ गतेबाट तय गरेका छौं । यस्तो अवस्थामा २० गतेपछि फेरी विद्यालय खोल्ने कि नखोल्ने अन्योल देखिएको छ ।’

गृहसचिव टेकनारायण पाण्डेका संयोजकत्वमा बसेको बैठकमा माघ १६ देखि २० सम्म छुटेकालाई पहिलो मात्रा खोप लगाउने निर्णय भएको थियो । त्यसबेला स्वास्थ्य र शिक्षा मन्त्रालयका अधिकारीको समेत सहभागिता थियो । २४ गतेबाट दोस्रो मात्रा अभियान शुरू हुने भनेपछि त्यसै दिनबाट छुटेकालाई पहिलो र अन्यलाई दोस्रो मात्रा खोप अभियान शुरू गर्दा उचित हुने स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइ छ ।
आजको नेपालसमाचारपत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *