ताजा समाचार

बन्दाबन्दी हुने आशङ्कामा विदेश जान नो अब्जेक्सन लेटर लिनेको लर्को

काठमाडौँ । ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा अचेल दैनिक सात सयभन्दा बढी विद्यार्थीको लर्को लाग्ने गरेको छ । जबकि ओमिक्रोन तीव्र रूपमा फैलिनुअघि दैनिक तीन सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए ।

शाखाका प्रमुख हरि निरौलाले अब विदेशमा पनि बन्दाबन्दी सुरु हुन्छ र ढिला गरेमा आफूहरू विदेश जान नपाउने भन्ने डर विद्यार्थीमा देखिएको बताउँदै भन्नुभयो, “यसै डरले केही दिनयता नो अब्जेक्सन लेटर लिनेहरूको भीड दोब्बरले बढेको छ ।” नो अब्जेक्सन लेटर लिनका लागि बिहीबार ७१७ जनाको आवेदन परेको छ । गत वर्ष करिब ३१ हजारले नो अब्जेक्सन लेटर लिएका थिए भने चालू आर्थिक वर्षमा गत साउनदेखि पुस मसान्तसम्ममा करिब ३० हजारले यस्तो लेटर लिइसकेका छन् ।

अनलाइनका माध्यमबाट आवेदन फाराम बुझाउन सकिने र विद्यार्थीले अनलाइनबाटै बुझाएका शैक्षिक प्रमाणपत्रको सत्यापनपछि सो शाखाले सम्बन्धित विद्यार्थीलाई बैङ्कमा रकम जम्मा गर्ने जनाउ दिन्छ । बैङ्कमा रकम जम्मा गरेर नो अब्जेक्सन लेटर लिनका लागि मात्र सो शाखामा गए पुग्नेमा आवेदन फाराम बुझाइसकेपछि अनावश्यक रूपमा विद्यार्थी केशरमहल परिसरमा पुग्ने गरेका छन् ।

“सामाजिक दूरी कायम गरी विद्यार्थीलाई व्यवस्थापन गर्न प्रहरीको सहायता लिँदा पनि भीड व्यवस्थापन गर्न कठिनजस्तै भएको छ,” शाखा प्रमुख निरौलाले थप्नुभयो, “कर्मचारीलाई पनि स्वास्थ्य समस्या देखिएको छ । कर्मचारी अभाव भएकाले बिदामा बस्न नदिई काममा लगाइएको छ । विद्यार्थी नोअब्जेक्सन लेटर लिने बेला मात्र आइदिए हुन्थ्यो भन्ने चाहेका छौँ ।”

वैदेशिक शिक्षाका लागि नो अब्जेक्सन लेटर लिन एसईई र कक्षा १२ को शैक्षिक प्रमाणपत्रको सत्यापन गराउनुपर्ने हुन्छ भने एसईई वा कक्षा १२ विदेशमा अध्ययन गरेको भए सोको समकक्षता निर्धारणसमेत गर्नुपर्ने हुन्छ । प्रमाणपत्र सत्यापन र समकक्षता निर्धारणका लागि सानो ठिमी पुग्ने विद्यार्थीको भीड उत्तिकै छ । राष्ट्रिय परीक्षा बोर्ड ९कक्षा १२०का परीक्षा नियन्त्रक कृष्ण शर्माले सत्यापनका लागि आउने विद्यार्थीको सङ्ख्या कम हुन नसकेको बताउँदै भन्नुभयो, “फ्रन्टलाइनमा बस्ने कर्मचारीहरूमा पनि स्वास्थ्य समस्या देखिएको छ । सेवाग्राही नघटेकाले खोक्दै भए पनि कर्मचारीले काम गरेका छन् ।”
आजको गोरखापत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *