काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आगामी वर्षको शैक्षिक क्षेत्र भद्रगोल हुने देखिएको छ । अधिकांश विद्यालयले फागुन र चैतमा अन्तिम परीक्षा लिएर वैशाखबाट नयाँ शैक्षिकसत्र शुरू गर्ने तयारी गरिरहेकोमा फागुन अन्तिमदेखि विद्यालय स्तरमा हुने परीक्षा पूर्ण प्रभावित हुने देखिएको छ ।
स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को एसईई, ११ र १२ को परीक्षा तालिकामा समेत असर पर्ने सम्भावना देखिएको छ । मुलुकभर कोभिड संक्रमण बढ्दै गएपछि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
सीसीएमसीको निर्णय कार्यान्वयन गर्दै मन्त्रालयले आज मंगलबारबाट माघ १५ सम्म विद्यालयको आधारभूतदेखि माध्यमिक विद्यालय तह ९कक्षा १२० सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयले आजबाट देशभरका २९ हजार सामुदायिक र ७ हजार निजी गरी करिब ३६ हजार विद्यालयको पठनपाठन बन्द हुने भएको छ ।
कोरोना
संक्रमणको कारण देखाउँदै सरकारले अन्य बिदामा मिलान गर्ने गरी विद्यालय बन्द गर्न निर्देशन दिएसँगै शैक्षिकसत्र धकेलिने भएको छ । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले शैक्षिकसत्र सार्ने वा वैशाखमै गर्ने भन्ने विषयमा छलफल चलाइरहेको अवस्थामा विद्यालय बन्द भएपछि आगामी शैक्षिकसत्र केही महिना पछि सर्ने निश्चित प्रायः छ । चालु शैक्षिकसत्र जेठदेखि शुरु भएको थियो ।
केही विद्यालयले कक्षा ११ र १२ को परीक्षा सञ्चालन गरिरहेका छन् । ती परीक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न समस्या नपर्ने मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई, कक्षा ११ र १२ को परीक्षा कहिले गर्ने भन्ने विषयमा छलफल शुरू गरिएको जानकारी दिँदै भन्नुभयो– ‘परीक्षा नहुने होइन, कहिले र कुन मोडलमा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
आजको नेपाल समाचारपत्रमा खबर छ ।




