काठमाडौं । अस्पतालमा कोभिड–१९ का संक्रमितको भर्नादर बढेको छ। गत साताभन्दा दोब्बरले संक्रमित संख्या बढेका छन्। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सरकारलाई प्रतिबन्धात्मक व्यवस्था गर्न सिफारिस गरेको छ।
सीसीएमसीसीको आइतबार बसेको बैठकले विद्यालय बन्दसहित विभिन्न प्रतिबन्धात्मक व्यवस्थाका लागि सरकारलाई सिफारिस गरेको हो। अब अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन पाइने छैन। भेला तथा महोत्सव आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार आगामी माघ १५ गतेसम्म मुलुकका आधारभूत तथा माध्यमिक विद्यालयहरूले बिदा दिन सिफारिस गर्ने निर्णयसमेत गरिएको छ। वार्षिक बिदामा मिलान हुने गरी बिदा दिनसमेत बैठकले निर्णय गरेको हो।
केन्द्रका सिफारिस सम्बन्धित मन्त्रालयको निर्णयपछि कार्यान्वयनमा आउने कानुनी व्यवस्था छ। बैठकले विद्यालय बन्दका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सूचना जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ। बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षमाथिका सबै उमेरका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकहरूलाई खोप उपलब्ध गराउन सरकारलाई भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ। यसका लागि जिल्ला खोप समन्वय समितिले प्राथमिकता साथ खोप अभियान सञ्चालन गर्न सहजीकरण गर्नुपर्ने देखिएको छ।
बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने प्रशासनिक, सामाजिक एवं त्यहीँ प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ। नगरी नहुने नियमित कामको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन पनि बैठकले निर्णय गरेको छ। सार्वजनिक स्थानहरूमा (कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको भ्याक्सिन लगाएको कार्ड (मोबाइलमा भए पनि हुने) साथमा देखाउनुपर्ने छ। ती निकायहरूले आगामी माघ ७ गतेदेखि लागू हुने गरी खोपकार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय गरेको छ।
आजको अन्नपूर्ण पोस्ट््मा खबर छ ।




