ताजा समाचार

ओमिक्रोनको जोखिम छ तर आत्तिनु पर्दैन

काठमाडौँ । नेपालमा कोरोना विषाणुको नयाँ प्रजाति फैलिने सम्भावना बढेको छ तर चिकित्सकहरूले नआत्तिन बरू स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न सुझाव दिएका छन् । भारतमा कोरोनाको ओमिक्रोन प्रजातिका कारण कोभिड–१९ का सङ्क्रमित नयाँदिल्ली र नेपालसँग सीमा जोडिएको विहारमा समुदायस्तरमा फैलिइसकेकाले नेपालमा जोखिम बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको नयाँ ओमिक्रोन फैलिन सक्ने भएकाले सचेत हुन सुझाव दिएको छ । महाशाखाले ओमिक्रोन फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

ओमिक्रोन फैलिने र त्यसले जटिल रूप लिने सम्भावना बढेको हो भन्ने प्रश्नमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले यही बेला ओमिक्रोन फैलिन्छ भनेर भन्न नसकिने तर भारतमा फैलिँदा नेपालमा पनि फैलिन सक्ने सम्भावना भने रहेको बताए।
नेपालमा ओमिक्रोन फैलिहाले त्यसको सामना गर्न सक्नुपर्ने भन्दै उहाँले यही स्थितिलाई ध्यानमा राखेर सतर्कता अपनाउनुपर्ने बताउनुभयो । ओमिक्रोन फैलिइहाले नेपालमा कोभिड–१९ को दोस्रो लहरमा भन्दा बढी सङ्क्रमित हुनसक्ने आकलन चिकित्सकहरूको छ ।
यसअघि दोस्रो लहरमा बढीमा एकै दिन नौ हजार दुई सय जना सङ्क्रमित थपिएका थिए । दोस्रो लहरमा दैनिक एक सयभन्दा बढीको मृत्यु भएको थियो । त्यस बेला अस्पतालहरूमा सहज रूपमा शय्या, अक्सिजन, आईसीयू र भेन्टिलेटरसमेत पाउन मुस्किल भएको थियो ।
गोरखापत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *